सल्लाह, सुझाब, वा फिडब्याक दिन मन लाग्छ?

(You can also listen to me reading this HERE.)

हलीवुडको चलचित्र “फाइट क्लब” को म एकदमै ठुलो फ्यान हुँ। यस चलचित्रको केन्द्रमा रहेको एउटा पंक्ति यस्तो छ : “फाइट क्लबको पहिलो नियम — तिमी यस क्लबको बारेमा कोहिसंग पनि कुरा गर्ने छैनौ। र, फाइट क्लबको दोस्रो नियम — तिमी यस क्लबको बारेमा कोहिसंग पनि कुरा गर्ने छैनौ।”

अरुलाई कसरी सल्लाह, सुझाब, वा फिडब्याक दिने भन्ने सन्दर्भमा फाइट क्लबको नियम जस्तै मेरो पनि एउटा मनगडन्ते नियम छ।

सल्लाह, सुझाब, वा फिडब्याक दिंदाको पहिलो नियम — तिमी कसैलाई पनि सल्लाह, सुझाब, वा फिडब्याक दिने छैनौ।दोस्रो नियम — तिमी कसैलाई पनि सल्लाह, सुझाब, वा फिडब्याक दिने छैनौ।

एक समयको कुरा हो। एउटा सनो व्यापारीको पसल अगाडी ठूलो सुपर मार्केट खुलेछ। सानो व्यापारीले एकदिन घिउको रु.३०० भएको बोर्ड राख्यो। यो देखेर सुपर मार्केटकोले रु.२८० को बोर्ड राख्यो। त्यस पछि सानो व्यापारीले रु.२६० को बोर्ड राख्यो। यसरी दुईजनाको बिच घिउको भाउ घटाउने प्रतिस्पर्धा चल्दै गयो।

यस्तो प्रतिस्पर्धा भइ रहेको चाल पाएर, एक सज्जन व्यक्ति सानो व्यापारीलाई सम्झाउन आउनु भयो।

“हेर बाबु, त्यो सुपर मार्केट निक्कै धनी व्यापारीहरुको हो, उनीहरुसंग जति भए पनि पैसा छ। तिमी यसरी मूल्य घटाएर चल्न सक्दैनौं है, होस् गर।”

त्यो सुनेर सानो व्यापारीले भन्यो, “तपाईंको सल्लाहको लागि धन्यवाद, तर म खासमा घिउ नै बेच्दिन।”

त्यसैले सल्लाह, सुझाब, वा फिडब्याक जबसम्म अरुले स्पष्ट रूपमा तपाईंसंग माग्दैन, तबसम्म दिने कुरा नै होइन। तपाईंको मनमा कुनै पाप नहोला, कुनै लुकेको स्वार्थ नहोला, तर पनि अरुलाई त्यतिकै माग्दै नमागेको सल्लाह, सुझाब, वा फिडब्याक दिने सोच्दा पनि नसोच्नुहोस।

कहिलेकाही मनलाई थाम्न नसकेर वा तपाईंको भित्रि मानविय सहयोगी भावनाले गर्दा यदी तपाईंले अरु व्यक्तिलाई सल्लाह, सुझाब, वा फिडब्याक दिने चेस्टा गर्नु भयो भनि पनि, १० पटकमा ९ पटक, तपाईंलाई पछुतोले पोल्नेछ । “बेक्कारमा मुख खोलेछु” भनेर।

पहिलो कुरा, तपाईंले अरुलाई उसको इच्छा बिपरित सल्लाह, सुझाब, वा फिडब्याक दिंदै हुनुहुन्छ। उल्टै तपाईंलाई नै “नन् अफ योर बिज्नेस” भन्ने जवाफ आउँन सक्ने धेरै सम्भावना छ। भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन। गोरुको निक्कै माया लागे पनि। दोस्रो कुरा, तपाईंको मनको साँचो सल्लाह, सुझाब, वा फिडब्याकको बेवास्ता गरेको देख्दा तपाईं आफैलाई चित्त दुख्ने सम्भावना पनि त्यतिकै छ।। अनि, मनमनै “भलाईका तो जमाना हि नही हे” भन्दै निराश हुनु पर्ने छ।

अहिले सामाजिक संजालमा यस नियम तोडेको उदाहरणहरु भेट्न खासै गार्हो छैन।

एक जनाले एउटा फोटो पोस्ट गर्छ, केहि क्याप्शन राखेर। कसैले ‘लाइक’ गर्छन, त कसैले “वाह, कस्तो राम्रो फोटो” भनेर कमेन्ट। अनि कसैले चाही, “फोटोमा क्यामराको कोण अलि मिलाएर खिचेको भए झन् राम्रो हुन्थ्यो” भनेर पोस्ट गर्छ। लगतै जवाफ पनि आउछ, “अब तिमी जस्तो खतरनाक क्यामरा चलाउन जान्ने मान्छे भए पो त यो सबै कुरा ख्याल राखेर फोटो खिचिन्थ्यो, आफु त सामान्य मान्छे परियो।”

हो, त्यस व्यक्तिले पहिलो नियम तोड्यो। बिचारा, उसको मनसाय त राम्रै थियो होला, तर फोटो पोस्ट गर्ने व्यक्तिलाई सो सल्लाह अनावश्यक र अवांछनीय पनि हुन सक्छ। उसले सो फोटो कुनै खुसीको पल अनलाइनमा अरुहरुसंग बाँड्नको लागि पोस्ट गरेको थियो, कसैको ‘सल्लाह’ पाउनको लागि थिएन।

सामाजिक संजालको कारण यस मानव प्रवृति र व्यवहारलाई हामी सबैले खुल्लमखुल्ला देख्न सक्छौ। हाम्रो सल्लाह, सुझाब, वा फिडब्याक दिने अन्तर निहित इच्छालाई सामाजिक संजालले निक्कै सजिलो बनाई दिएको त छ तर यसको जटिलतालाई धेरैले नबुझेको र लापरवाही गर्दै अवज्ञा गरेको देख्न सक्छौ।

ट्विटर, फेसबुक, युट्युब जता त्यतै आजकाल कमेन्टमा झैँ-झगडा हुने एउटा प्रमुख कारण हो — अरुलाई नचाहिएको सल्लाह, सुझाब, र फिडब्याक दिनु। सामान्य अन्तरक्रिया एक्कै चोटी आक्रामक, अपमानजनक, र गालीगलोजमा परिवर्तन भएको धेरै उदाहरणहरु छन्। त्यसमाथि, एउटा जमात हुन्छ जसले अरुहरुको हरेक व्यवहारलाई परम्परा र नैतिकताको प्रश्नहरुले प्रहार गर्न खोज्छन र अर्ति उपदेश प्रदान गर्दछन। र अर्को जमात हुन्छ जसले जन्मिदै सबै कुरा जान्ने बुझ्ने भएर आएको हुन्छ र अरुको कुरामा तुरुन्तै असहमत हुने, चित्त दुखाउने, र लफडा मचाउने गर्दछन।

इन्टरनेट र सामाजिक संजालले अहिलेसम्म कै विशाल सम्भावना दिएको छ — सम्पूर्ण मानवतासंग सहयोग, सदभाव, र सम्बाद गर्ने। तर, यस सम्भावनालाई अँगालो हालेर आफ्नो सामाजिक घेरालाई ठुलो र फराकिलो बनाउनुकोसट्टा, हामी झन् खुम्चिएको सोंचाई र झैँ-झगडा तिर फर्किएको झैँ लाग्छ।

जबकि सामान्यतया अगाडि हुँदा हामी अपरिचित व्यक्तिसंग पनि विनम्र भएर, आदर देखाएर कुराकानी र अन्तरक्रियाहरु गर्दछौ, तर अनलाइनमा हामी सजिलै हाम्रो “नराम्रो” रुप देखाई हाल्छौ।

मैले पढाउने एउटा कक्षाको दुई बिद्यार्थीहरु बीच फेसबुकमा भएको एउटा बार्तालापको उदाहरण राख्छु। पहिलो बिद्यार्थीले आफ्नो वालमा नेपालको एक चर्चित महिला सेलेब्रिटीको फोटोलाई शेयर गर्दै निक्कै लामो पोस्ट लेखिन।

अनि, दोस्रो बिद्यार्थीले पहिलो बिद्यार्थीको पोस्टमा यस्तो कमेन्ट राख्यो:

“यो हप्ता दुईटा दुईटा गार्हो असाइनमेन्टहरु छन्, त्यसमा ध्यान नदिएर किन यस्तो हावादारी कुरामा ध्यान दिएको होला?”

त्यस पछि, पहिलो बिद्यार्थीले यसरी प्रतिक्रिया लेखिन:

“अ, हो है। तिम्रो लागि यो हावादारी कुरा नै हो। यो कुराहरु बुझ्न सबैको क्षमता हुदैन। तिमीले यो कुरा बुझ्न सक्दैनौ भन्दैमा अरुलाई के गर्नु पर्छ, के गर्नु पर्दैन भनेर भन्नु जरुरी छैन। म मेरो लागि आफैँ निर्णय गर्न सक्छु। जे होस्, धन्यबाद।”

यो जवाफ पढे पछि दोस्रो बिद्यार्थीलाई पक्कै पनि लाग्यो होला, “मैले त साथीको नाताले राम्रै सुझाब दिएको थिए जस्तो लाग्छ, किन यसरी म माथि आक्रामक भएको होला।” उसको आसय राम्रै थियो होला। असाइनमेन्टहरु गर्नमा ध्यान दिएको भए राम्रो हुन्थ्यो। तर उसले पनि पहिलो नियम तोड्ने गल्ति गर्यो। जसको फलस्वरुप सार्वजनिक मञ्चमै दुईजना बीच यस्तो तितो बार्तालाप हुनपुग्यो। र सायद भविष्यमा यी दुईजना बीच कुनै बार्तालाप हुने छैन।

के पहिलो बिद्यार्थीले त्यसरी व्यंग्यात्मक प्रतिक्रिया दिनु उपयुक्त थियो त? थियो होला। थिएन होला। तर म फेरी दोहोराउन चाहन्छु। सल्लाह, सुझाब, वा फिडब्याक दिंदाको पहिलो नियम — सल्लाह, सुझाब, वा फिडब्याक दिने नै होइन।

कुनै आपतकालीन वा नाजुक परिस्थितिमा बाहेक झुक्किएर पनि अरुलाई सल्लाह, सुझाब, वा फिडब्याक नदिनुहोस। त्यस्तै, प्रशिक्षणको वा सिक्ने सिकाउने सन्दर्भमा जहाँ सल्लाह, सुझाब, वा फिडब्याक दिनु र लिनु पहिले नै अपेक्षा गरिएको हुन्छ, त्यस्तो स्थितिमा बाहेक आफ्नो “सित्तैमा सल्लाह” दिने बानीलाई लगाम लगाउनु नै राम्रो हुन्छ।

अनि, जब अर्को व्यक्तिले स्पष्ट रुपले तपाईंसंग सल्लाह, सुझाब, वा फिडब्याक माग्दछ, तब मात्र आफ्नो मत राख्नु होला। तब मात्र आफ्नो ज्ञान, शीप, र अनुभवका आधारमा सहयोगी सल्लाह, सुझाब, वा फिडब्याक दिनु होला। नत्र, तपाईंको शब्द र तपाईंको प्रयास अर्थहिन हुन सक्ने धेरै सम्भावना छ।

यहाँ निर म एउटा तीतो सत्य राख्न चाहन्छु। दुर्भाग्यको कुरा, धेरै जनालाई सल्लाह, सुझाब, वा फिडब्याक माग्न पनि आउदैन, र धेरै जनालाई दिन पनि आउदैन।

यो कुरोलाई फेरि जारी राखौंला, अहिलेलाई हस्त नमस्कार।

Teacher. Teacher Developer. Right-brain@Empowerment Academy

Teacher. Teacher Developer. Right-brain@Empowerment Academy